काठमाडौं, कात्तिक १७ । मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ ।
चाबहिलभन्दामाथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
चाबहिल चोकमा भने चुहावट बन्द गरी पुनःपरीक्षण गर्दासमेत काम नगरेपछि एक महिनादेखि काम भइरहेको छ ।
पानी वितरण गर्न ७० किमि थोक र ६७० किमि वितरण सञ्जालको पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पाइप बिच्छ्याएका स्थानमा वाग्मतीको पानीले भ्याएसम्म परीक्षण पनि भइरहेको जनाइएको छ ।
चाबहिल चोकको एक हजार ४०० एमएमको पाइपको चुहावट आइतबारसम्म बनाइसक्ने निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले राससलाई जानकारी दिए ।
महाँकाल, चुच्चेपाटी र सुकेधाराका चुहावट यसअघि नै बन्द भइसकेको छ । वर्षादमा वाग्मती नदीमा बढी भएको पानी सुन्दरीजलको नयाँ प्रशोधन केन्द्रमा हाली परीक्षण गरिएको हो ।
वर्षादमा बढी भएको दैनिक तीन करोड लिटर पानी मेलम्चीको वितरण सञ्जालमा हाली परीक्षण गरिएकोमा हिउँद लागेसँगै ३० प्रतिशतले कमी आएकाले बाँकी परीक्षण गर्न मेलम्चीकै पानी कुर्नुपर्ने उनले बताए ।
मेलम्चीको पानी सुन्दरीजलमा झरेपछि महाँकालचौर ल्याइ पुरानो सञ्जालबाट वितरण र नयाँ सञ्जालबाट परीक्षण गरिने निर्देशनालयले जनाएको छ ।
दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने सरकारको लक्ष्य छ ।
पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानीमा आउनेछ ।
याङ्री र लार्केको आयोजना सम्पन्न भएपछि दैनिक ५१ करोड ९० लाख लिटर पानी राजधानीमा झार्ने लक्ष्य छ ।
याङ्री र लार्केको पानी ल्याउन विस्तृत् परियोजना प्रस्ताव निर्माणको काम भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्