
काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समीक्षा भइरहेको छ ।
भ्रमणका क्रममा नेपाल र चीनबीच भएको १४ बुँदे सहमतिलाई सरकारले ठूलो उपलब्धि मानेको छ ।
तर कतिपयले भने प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा महत्वपूर्ण सहमति गर्न नेपाल चुकेको टिप्पणी गरेका छन् ।
छ दिने चीन भ्रमण सकेर फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमण सोचे भन्दा पनि उपलब्धिमूलक भएको बताएका थिए ।
विभिन्न विषयमा भएका १४ बुँदे सहमतिको फेहरिस्त प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएको रेलवे, हवाई, यातायात र ट्रान्समिसन लाईन विस्तारसम्बन्धी सम्झौतालाई महत्वपूर्ण भएको दाबी गरे पनि ब्यापार र तथा पारवाहन सम्झौता नभएको विषयलाई भने सबैले चासोको रुपमा लिएका छन् ।
भ्रमणका क्रममा चिनियाँ पक्षले नेपालको आर्थिक समृद्धि र केरुङ–काठमाडौं रेलवे निर्माणको विषय देखाएको चासो भने निकै चर्चामा छ ।
त्यस्तै तातोपानी र रसुवागढी नाकाको मितेरी पुलको निर्माण र थप नाका खोल्ने विषय पनि प्राथमिकतामा रहेकाले भ्रमण सकारात्मक नै रहेको विपक्षी दलको समेत निष्कर्ष छ ।
विपक्षी दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्का प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक भए पनि उपलब्धिका विषयमा भने प्रतिक्षा गर्नुपर्ने बताउँछन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीनबीचको सम्बन्ध बिस्तारका लागि मात्र नभई नेपालको समृद्धिका लागि समेत भ्रमण निकै उपलब्धिमूलक भएको बताए ।
उनले चीनसँग भएका सहमति क्रमशः कार्यान्वयन हुने दाबी गरे । तिब्बतसम्म आइसकेको चिनियाँ रेल सिगात्सेसम्म सन् २०२० भित्रै आउने चर्चा छ ।
तर त्यहाँबाट केरुङ आउन २७ किलोमिटर ट्रयाक बनाउनुपर्छ अनि मात्र नेपाली भूभागमा रेल प्रवेश गर्ने अवस्था रहन्छ ।
भ्रमणमा रेलवेसम्बन्धी सम्झौता हुनु सकारात्मक भए पनि कार्यान्वयन हुने विषय भने निकै चुनौतिपूर्ण देख्नुहुन्छ कांग्रेस नेता डा. खड्का ।
नेपालले चीनसँग गर्ने भनिएको बहुचर्चित व्यापार तथा पारवहन सम्झौता भने प्रधानमन्त्रीको भ्रमणका क्रममा हुन नसक्नु दुःखद पक्ष हो ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा सम्झौताको आधार तय भएको र चाँडै सम्झौता हुने दाबी सरकारले गरिरहेको छ ।
यो सम्झौता तत्काल हुन सके प्रधानमन्त्रीको चीन भ्रमण थप उपलब्धिमूलक भएको मान्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्