
काठमाडौं, कात्तिक १६ । राष्ट्रिय महिला आयोगले आर्थिक बर्ष २०७४/०७५ मा आयोगमा महिला हिंसाका ८३८ वटा उजुरी परेको र ती मध्ये ७६६ वटा उजुरी घरेलु हिंसाका भएको जनाएको छ ।
आयोगले आज राजधानीमा गरेको कार्यक्रममा यस आर्थिक वर्षमा अहिलेसम्म ७२ वटा उजुरी परेको जानकारी दिइयो ।
आयोगले महिला हिंसाका घटनालाई पत्रपत्रिकाले पहिलो पृष्ठमा स्थान नदिएको र कम महत्व दिएर छाप्ने गरेको गुनासो पनि गरेको छ । साथै समाचारमा पीडित पक्षको गोपनीयता कायम नगर्ने गरेको पनि औंल्याइएको छ ।
पछिल्लो समय महिलाविरुद्ध हुने हिंसाको रुप फेरिएको उल्लेख गर्दै आयोगले सामूहिक बलात्कारपछि हत्या, हाडनाता करणी, विभिन्न देशमा तस्करी तथा विदेशीहरुबाट बाल यौनशोषणा हुने गरेको पनि जनाएको छ ।
कार्यक्रमका सहभागीहरुले महिला हिंसाका घटनाको अध्ययन अनुसन्धान गरी कारण पत्ता लगाउनु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्