रेनु श्रेष्ठ
गोरखा, कात्तिक १६ । चराजस्तै आकाशमा उड्ने पाराग्लाइडिङ आजकल धेरैको रोजाइमा पर्दै गएको छ । जीवनमा एकपटक मात्रै पाराग्लाइडिङको अनुभव गरेका गोरखा आरुघाटका एकबहादुर आलेले आफँैले पाराग्लाइडर बनाएर उडाएका छन् ।
यो पाराग्लाइडर उडेको दृश्य गोरखा आरुघाट गाउँपालिकास्थित चनौटेको हो । जुन यहाँकै स्थानीय एकबहादुर आलेले निर्माण गरेको र आफैँले पाराग्लाइडिङ गरिरहेका छन् । फोटो स्टुडियो र ब्यानर लेखनबाट दैनिक गुजारा चलाउँदै आएका ५८ वर्षीय आले पाराग्याइडिङ्ग गराउने पाइलट भने होइनन् ।
पोखराको सराङ्गकोटमा एकपटक मात्र पाराग्लाइडिङमा चढेका आलेले पाराग्लाइडर नै बनाएर सबैलाई चकित बनाएका छन् । आफूले धेरै खोजी र मिहिनेतबाट बनाएको पाराग्लाइडरलाई सरकारले चेकजाँच गरेर मान्यता दिनेमा विश्वस्त रहेको आले बताउँछन् ।
कतिपय कुराहरु युट्युब र गुगलको सहारामा आलेले पारासुटका कपडा, नाइलनका डोरी र विभिन्न कब्जाहरुको प्रयोगबाट ८ किलो तौलको पाराग्लाइडर बनाएका हुन् । जसमा दुर्घटनाबाट बच्न पारासुटसहितको आपतकालिन व्यागसमेत तयार पारेका छन् । उनको यस्तो प्रयासलाई सरकारले पनि मान्यता दिनुपर्ने आरुघाट गाउँपालिका १० का वडाध्यक्ष मेनबहादुर अधिकारीको भनाइ छ ।
विसं २०५५ सालमा नेपाली सेनाको जागिरबाट अवकाश पाएका आलेले गरेको यो प्रयासलाई सबैले प्रोत्साहित गर्नुपर्छ ।









प्रतिक्रिया दिनुहोस्