Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


काठमाडौंको पूर्वाधार विकासमा सुस्तताबारे प्रधानमन्त्री कार्यालयको चासो


0
Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालयले काठमाडौं उपत्यकाको पूर्वाधार विकासमा देखिएका समस्यावारे आज सरोकारवालाहरुसंग छलफल गरेको छ ।

उपत्यकाको सडक विस्तार तथा सुधार, खानेपानी व्यवस्थापन तथा  प्रदुषण नियन्त्रण गर्न यसअघि दिएको निर्देशन र प्रगतीबारे प्रधानमन्त्री कार्यालयले सम्बन्धीत मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको हो ।

पूर्वाधार विकासका कामहरुमा निकै सुस्तता देखिएको र यसको असर चौतर्फी असर परेकाले तोकिएको काम जतिसक्दो चाँडो सम्पन्न गर्न प्रधानमन्त्री कार्यालयले सम्वन्धीत पक्षको ध्यानाकर्षण गराएको छ ।

छलफलमा सहभागी सरोकारवाला निकायका अधिकारीहरुले आ–आफ्नो कार्यविवरण र कार्यप्रगति पेश गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले सडक सञ्जालको स्तरोन्नती एवं विस्तार, फुटपाथ व्यवस्थापन र सडकहरुको समयमै मर्मत सम्भार हुन नसक्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिदै गइरहेको बताए ।

उनले आकाशे पुल, सडक पेटी, रेलिङ आदि अनिवार्य रुपमा राख्नुपर्नेमा जोड दिए ।

पन्तले अझै पनि सडकमा धेरै खाल्डाखुल्डीहरु रहेको भन्दै बेलैमा मर्मत सम्भार नगरे दुर्घटनाको जोखिम झनै बढ्दै जाने बताए ।