८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


जनकपुर विकास परिषदका तत्कालीन अध्यक्ष रायसहित १० जनाविरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं, कात्तिक १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले परिषदका तत्कालीन अध्यक्ष दीगम्बर रायले रु ७६ लाख २८ हजार ५०२, तत्कालीन कार्यकारी निर्देशक डा. सूर्यदेव साहले रु ६२ लाख ८८ हजार ५६९, नायब सुब्बा उषा मिश्रले रु ६६ लाख ४२ हजार ६६४ भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

यस्तै, परिषदका लेखापाल उत्तमराज शर्मा ढकालले रु ६२ लाख ८८ हजार ५६९, तत्कालीन सबइन्जिनियर पर्शुराम साहले रु तीन लाख ५४ हजार ९५, तत्कालीन कार्यकारी निर्देशक राजेशकुमार साहले रु ६२ लाख ८८ हजार ५६९, परिषदका अर्का तत्कालीन कार्यकारी निर्देशक गोपाल झाले रु ९ लाख ८५ हजार ८३८, इन्जिनियर उपेन्द्र झाले रु १३ लाख ३९ हजार ९३३ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।

यसैगरी, ठेकेदार प्रतिनिधि विष्णुबहादुर राउतले रु ९ लाख ८५ हजार ८३८ र ठेकेदारका अर्का प्रतिनिधि प्रदीपनारायण शाहले रु तीन लाख ५४ हजार ९५ बराबरको भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको छ ।

स्थानीय रंगभूमि मैदान, गंगासागर र तिरहुतीया गाछी संरक्षण कार्यलगायत विभिन्न ८ ओटा ठेक्काको बोपलत्र मूल्यांकन प्रक्रिया र निर्माणकार्यमा अनियमितता भएको आयोगको ठहर छ ।

आरोपीलाई हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यस्तै, आयोगले बिहीबारै जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाका कार्यालय प्रमुखलगायतले आर्थिक वर्ष २०६९/०७० मा सन्चालित दादुरा रूबेला, सुरक्षित मातृत्व, हात्तीपाइले रोग उन्मुलन नियन्त्रण, परिवार नियोजन र औषधि खरिदमा रु तीन लाख ८१ हजार ८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले लेखा अधिकृत दहलमान राईले रु तीन लाख ८१ हजार ८१, नायब सुब्बा हरिकुमार पोखरेलले रु दुई लाख ४७ हजार ९१, तत्कालीन खोप सुपरभाइजर प्रकाश अधिकारीले रु एक लाख ३३ हजार ९९० बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

उनीहरुले दादुरा रुबेला खोप कार्यक्रमअन्तर्गत् निकासा भएको बजेटमा भ्याक्सिन ढुवानी, कार्यक्रम सन्चालन, औषधि ढुवानी, सवारी–साधनको इन्धन खर्च र कार्यालय सन्चालन तथा व्यवस्थापनका सामान खरिद गरेको भनी नक्कली बील बनाइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । रासस