
कोलम्बो, कात्तिक १५ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन् ।
अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति संघर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन् ।
राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गरेका थिए ।
संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिंघेको सट्टामा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
विक्रमासिंघेले राष्ट्रपतिको कदमलाई खारेज गर्नुका साथै प्रधानमन्त्रीको सरकारी निवास छाड्न अस्वीकार गरेका छन् ।
‘बुधबार साँझ राष्ट्रपति र संसदका सभामुखबीच भेटवार्ता भयो । यो एक किसिमको मध्यस्थता हो’–वार्तामा सहभागी एकजना अधिकारीले बताए–‘अन्यथा, सभामुखले राष्ट्रपतिको कदमलाई बेवास्ता गरी शुक्रबार संसदको बैठक आह्वान गर्ने तयारी भएको थियो ।’
संसदमा यो संकटकाबारेमा सोमबार मतदान हुने/नहुने विषय भने स्पस्ट भइसकेको छैन । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्