काठमाडौं, कात्तिक १५ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट थप रोमान्चक मोडमा पुगेको छ ।
बिहीबारका खेलपछि ६ टिम सहभागी प्रतियोगितामा पाँच टिमले समान ४/४ अंक बटुलेका छन् ।
अन्तिम स्थानको सन्दीप लामिछाने नेतृत्वको विराटनगर टाइटान्स २ अंकबाट पुछारमा छ ।
ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं रोयल्सले लगातार दुई जितपछि पहिलो हार व्यहोर्नेक्रममा बिहीबार चितवन राइनोजसित १३ रनले पराजित भयो ।
खेलमा पारस खड्का नेतृत्वको चितवनले दिएको १५० रनको चुनौती पछ्याएको काठमाडौंले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो ।
भारतीय खेलाडी गौरव तोमरले ३९ तथा ज्ञानेन्द्रले ३० रन बनाए । करण केसीले ३ तथा पारसले २ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको चितवनले ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । हरिशंकर शाहले ६० तथा स्मिथ पटेलले ३१ रन बनाएका थिए ।
सुरुआती दुई खेल हारेर आलोचित भएको चितवनले त्यसपछि लगातार दुई खेल जितेको हो ।
धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले हरायो
बिहीबारै भएको दोस्रो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले हरायो ।
लगातर दोस्रो जित हासिल गरेको धनगढीले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।
कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ बलमा अविजित ५६ तथा इंग्ल्यान्डका खेलाडी डान लरेन्सले ३९ बलमा ५२ रन बनाए ।
जवाफमा सोमपाल कामी नेतृत्वको बुटवलले ६ विकेटको क्षतिमा १४१ रनमात्र बनाउन सक्यो ।
युएईका चिराग सुरीले ५४ बलमा ७९ रन बनाएको इनिङ्समा सागर ढकालले २ विकेट लिए ।
लगातार दोस्रो हार व्यहोरेको बुटबल ४ खेलबाट ४ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा रहँदा पोखरा पल्टन ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ ।
त्यसैगरी, ४ खेलबाट ४ अंकको चितवन राइनोज तेस्रो तथा ३ खेलबाट ४ अंकको काठमाडौं चौथो स्थानमा छ ।
धनगढी ४ खेलबाट ४ अंकसहित पाँचौं स्थानमा रहँदा विराटनगर ४ खेलबाट २ अंकसहित पुछारमा छ ।
शुक्रबार धनगढीले पोखरासँग र बुटवलले काठमाडौंसित खेल्ने कार्यक्रम छ ।








प्रतिक्रिया दिनुहोस्