Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


माथिल्लो तामाकोसीको सेयर बिक्री सुरु


0
Shares

काठमाडौं, कात्तिक १५ । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण सेयर (आइपीओ) बिहीबारदेखि बिक्री सुरु गरेको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण सेयर बिक्री र बाँडफाँट गरिसकेको छ । बुधबारमात्रै कम्पनीले दोलखावासीलाई साधारण सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले न्यूनतम् ५० कित्ता र अधिकतम् एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

धितोपत्र निष्कासन छिटोमा यही कात्तिक १९ गतेसम्म तथा बढीमा मंसिर १४ गतेसम्म हुनेछ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् ।

कुल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।

दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई सेयर बिक्री गरिसकेको छ ।

यस्तै, आयोजना प्रभावित दोलखावासीका लागि गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म पहिलो चरणमा सेयर बिक्री भइसकेको छ ।

कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई यसअघि नै सेयर बिक्री गरिसकेको छ ।

कम्पनीले सर्वसाधारण सेयरतर्फ रु १० अर्ब बराबरको सेयर बिक्री गर्ने जनाएको छ । त्यसमा सञ्चयकोषका सञ्चयकर्तादेखि स्थानीयवासी र सर्वसाधारणसमेतको सेयरको हिस्सा रहनेछ ।

माथिल्लो तामाकोसी आयोजनाको बिजुली व्यावसायिक उत्पादनका लागि भने अझै एक वर्ष जति कुर्नुपर्नेछ ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठले दोलखावासीलेजस्तै सर्वसाधारणले पनि सेयरमा विशेष चासो राख्ने र धेरैभन्दा धेरै नागरिक सहभागी हुने अपेक्षा गरिएको बताए । रासस