
काठमाडौं । सरकारले आजबाट राष्ट्रिय परिचयपत्र छपाइको काम सुरु गर्दैछ ।
गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्र छपाइको सम्पूर्ण तयारी पूरा गरी आजबाट छपाई थाल्न लागेको हो ।
सरकारले पहिलो चरणमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका अतिविशिष्ट पदाधिकारीलाई राष्ट्रिय परिचपयपत्र वितरण गर्ने सोच बनाएको छ ।
यसपछि सिंहदरवार भित्र कार्यरत ७ हजार निजामती कर्मचारी तथा पाँचथरका १ लाख १० हजार जनतालाई राष्ट्रिय परिचयपत्र बाँडिनेछ ।
राष्ट्रिय परिचयपत्रका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित सिंहदरबारका १ हजार कर्मचारीको बायोमेट्रिक विवरण संकलन गरिसकेको राष्ट्रिय परिचयपत्र वितरण केन्द्रले जनाएको छ ।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालित यो परियोजना अन्र्तगत राष्ट्रिय परिचय पत्र छाप्नका लागि सिंहदरबारभित्रै प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
केन्द्रका अनुसार राष्ट्रिय परिचय पत्रमा दुई किसिमको विवरण राखिनेछ । पहिलो डेमोग्राफिक अर्थात व्यक्तिगत विवरण हुन्छ ।
यसअन्र्तगत व्यक्तिको नामथर, ठेगाना, जन्ममिति, शैक्षिक योग्यता, पेशा र धर्म उल्लेख हुन्छ ।
यस्तै बायोमेट्रिकमा १० ओटै औलाको छाप, फोटो र डिजिटल हस्ताक्षर रहन्छ ।
यो आर्थिक वर्षमा १५ जिल्लामा कार्यक्रम लागू गर्ने योजना राखिएको छ ।
अर्को वर्ष २५ जिल्लामा, त्यसपछि बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्