
दीपेन्द्र अधिकारी (रासस)
कतार, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चारदिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित राष्ट्रिय पुस्तकालय र संग्रहालयको अवलोकन गरेकी छन् ।
अत्याधुनिक र अत्यन्त आकर्षक शैलीमा निर्मित पुस्तकालयमा अरबी, अंग्रेजीलगायत विभिन्न भाषाका १० लाखभन्दा बढी पुस्तक छन् ।
विद्युतीय पुस्तकालय र बालबालिकालाई क्रीडास्थलसहितको आकर्षक सुविधा सो पुस्तकालयको प्रमुख विशेषता रहेको पुस्तकालयका कर्मचारीले जानकारी दिए ।
पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यति विशाल र आधुनिक पुस्तकालयमा एउटा पनि नेपाली भाषाको पुस्तक नहुनु दुःखको कुरा भएको बताउँदै चार लाखभन्दा बढी नेपाली कामदार रहेको देशको प्रमुख पुस्तकालयमा नेपाली भाषाका पुस्तक उपलब्ध गराउन सरकार र दूतावासको ध्यानाकर्षण गराइन् ।
उनले यस किसिमको बालपुस्तकालय र क्रीडास्थल नेपालमा पनि सान्दर्भिक रहेकाले यसको अध्ययनका निम्ति नेपाली टोली छिट्टै यहाँ पठाइने बताइन् ।
राष्ट्रपति भण्डारीले पुस्तकालयको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नाका साथै आफ्नो धारणासमेत लेखेकी छन् ।
उनले यस किसिमको पुस्तकालय सबैका निम्ति आवश्यक र उदाहरणीय रहेको विचार व्यक्त गरिन् ।
पुस्तकालयको भ्रमणकाक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुस्तकालय अत्यन्त व्यवस्थित, आकर्षक र पठनमैत्री रहेको बताए ।
पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यहाँको राष्ट्रिय संग्रहालयको पनि अवलोकन गरिन् ।
आधुनिक शैलीमा निर्मित संग्रहालयमा पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्वका वस्तु व्यवस्थित र फराकिलो गरी राखिनु सबैका लागि अनुकरणीय हुने राष्ट्रपति भण्डारीले बताइन् ।
प्रतिक्रिया दिनुहोस्