
किशोरजंग थापा (इमेज)
काठमाडौं, कात्तिक १४ । पछिल्ला केही वर्षयता विश्व राजनीतिको परिदृश्यमा ‘नवराष्ट्रवाद’को उदय र प्रभाव विस्तारै फैलँदै गएको देखिन्छ ।
राष्ट्रिय मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आफ्नो प्रभुत्व स्थापित गर्ने मान्यतामा नवराष्ट्रवादको नारा समात्ने नेताहरु अग्रमोर्चामा आउन थालेका छन् ।
भर्खरैमात्र ब्राजिलमा दक्षिणपन्थी पार्टीको विजयलाई नवराष्ट्रवादको पछिल्लो अनुमोदनकारुपमा हेर्न थालिएको छ ।
सन् १९८० दशकको उत्तरार्धदेखि विकसित हुँदै आएको बहुलवादी समाजमा समतामूलक आर्थिक परिकल्पनाभन्दा फरक किसिमको चिन्तन हो, नवराष्ट्रवाद ।
विश्वव्यापीकरणको लहरमा समाहित हुँदै राज्य व्यवस्थाले नागरिकको आर्थिक र सामाजिक सुरक्षामा मौलिक चासो दिँदै त्यसैको आधारमा राज्यको पहिचान स्थापित गर्नेक्रममा नवराष्ट्रवाद अंगाल्न सुरु भएको देखिन्छ ।
आफ्ना नागरिकलाई आर्थिक र सामाजिक सुरक्षा प्रदान गर्न यही वादबाट सकिन्छ भन्ने मान्यता स्थापित गर्ने प्रयासमा नवराष्ट्रवाद उदाएको मान्न सकिन्छ ।
विश्व राजनीतिक रंगमञ्चमा नवराष्ट्रवादको सोचलाई निश्चित मूल्य–मान्यतामा डोर्याउँदै अघि बढिरहेका छन्, केही मुलुक र नेताहरु ।
भारतमा नरेन्द्र मोदीले हिन्दु राष्ट्रवादको जगमा चुनावमा सफलता हात पारे ।
बेलायतले एकीकृत युरोपको अवधारणाबाट आफूलाई अलग गर्दै युरोपेली युरोपियनबाट छुट्टिने निर्णय गर्यो ।
युरोपेली समुदायभित्र आप्रवासनलगायत युरोजोन समस्याबाट घरेलु अर्थतन्त्र जोगाउन समुदायको साथ छाडेर नवराष्ट्रवादमा उभियो, बेलायत ।
अमेरिकामा आप्रवासीहरूलाई निश्चित सीमामा राख्ने गरी ल्याइएको फरक शैलीको घरेलु अवधारणा रुचाइयो, तुलनात्मकरुपमा अनुदार मानिने रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित गरेर ।
सीमा नियन्त्रण, मुस्लिम आप्रवासीसम्बन्धी अनुदार दृष्टिकोण, व्यापार उदारीकरणलगायत अघिल्लो सरकारभन्दा फरक धार रोज्दै ट्रम्पको ‘अमेरिका फस्ट’ चुनावी अभियान नवराष्ट्रवादकारुपमा उदायो ।
अमेरिकाको यस्तो रबैयाले चीन र रुसजस्ता कम्युनिस्ट मुलुकको दबदबा बढ्ने अनुमानसमेत गरिएको छ ।
फ्रान्समा म्यानेयल म्याक्रौं यही नवराष्ट्रवादको नारा पछ्याउँदै सत्ताको बागडोर सम्हाल्न पुगेका छन् ।
जापानमा प्रधानमन्त्री शिन्जो आबे सत्तामा आएदेखि उनको सरकारले लिएको ‘आबेनोमिक्स’ नीति नवउदारवादकै परिणाम मानिन्छ ।
हालैमात्र पनि जर्जर आर्थिक संकटमा फसेको ब्राजिलमा राष्ट्रिय मुद्दाहरुलाई स्थापित गर्ने प्रयासमा रहेका दक्षिणपन्थी नेता जेयर बोलसोनारो राष्ट्रपति निर्वाचित हुनुलाई नवराष्ट्रवादसँग जोडेर हेरिएको छ ।
नेपालमै पनि राष्ट्रवादको नारा समातेर बहुमतप्राप्त दलका शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए, केपी शर्मा ओली ।
यी सबै घटना एकपछि अर्को अगाडि बढिरहँदा खुलापन, विश्वव्यापीकरण र बहुलवादी समाज विकासमा हुन गएको पुनर्विचारसँग जोडेर हेर्न थालिएको छ ।
नवराष्ट्रवादलाई अंगालेका नेताहरूमा विपक्षीहरूको वैधतालाई नै अस्वीकार गर्नु पनि रहेको आरोप लाग्ने गरेको छ ।
आफूसँग सहमत देशभक्त र विपक्षमा उभिनेलाई विरोधीको कित्तामा उभ्याउन थाल्ने हो भने नवराष्ट्रवादको नारा कत्तिको टिक्ला ? भन्ने प्रश्न पनि उठेको छ । तर, लहर नवराष्ट्रवादकै छ । –एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्