११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना, २५ जनाको मृत्यु


0
Shares

हेरात (अफगानिस्तान), कात्तिक १४ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् ।

इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

हेलिकोप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको पनि मेहरीले बताए ।

सो हेलिकोप्टर आफ्ना लडाकूले खसालेको तालिबानले दाबी गरेको छ ।

प्रवक्ता मेहरीले हेलिकोप्टर दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमान्डर र फराह प्रान्तीय परिषदका प्रमुखको मृत्यु भएको बताए ।

प्रान्तीय परिषदका सदस्य दादुल्लाह क्वानेहले हेराततर्फ उडिरहेको हेलिकोप्टर खराब मौसमका कारण पहाडमा ठोक्किएको बताए ।

तालिबानको बाक्लो उपस्थितिका कारण उच्च सरकारी तथा सैनिक अधिकृतहरुले सामान्यतया यात्राका लागि हेलिकोप्टरको प्रयोग गर्दछन् ।

युद्धग्रस्त अफगानिस्तानको भौगोलिक विकटताका कारण बेलाबखत हेलिकोप्टरहरु दुर्घटनामा पर्ने गरेका छन् ।

गत सेप्टेम्बरमा सैनिक सामग्री बोकेको अफगानी सैनिक हेलिकोप्टर फराहमा आपत्कालीन अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार कम्तीमा चारजनाको मृत्यु भएको थियो ।

सेप्टेम्बर महिनाकै सुरुमा उत्तरी बाल्ख प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा दुईजना युक्रेनी नागरिकसहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

पश्चिमी देशहरुले गृहयुद्धबाट क्षतिग्रस्त अफगानिस्तानको हवाईफौजलाई पुनर्जीवित तुल्याउन सहयोग गरिरहेको बताइएको छ । रासस/एएफपी