Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


केन्द्रीय प्रशारण लाइन निर्माणपछि लघु जलविद्युत् आयोजना सफल हुँदै


0
Shares

सुजित भण्डारी/ईमेज

नुवाकोट । केन्द्रीय प्रशारण लाइन निर्माणपछि विस्थापित जस्तै भएका नुवाकोटका ग्रामीण क्षेत्रका लघु जलविद्युत् आयोजना पछिल्लो समयमा केन्द्रीय प्रशारण लाइनमै जोडिएका छन् ।

योसँगै संकटमा रहेका यस्ता आयोजनाले पुनर्जीवन मात्रै पाएका छैनन्, मनग्य आम्दानीसमेत गर्न थालेका छन् ।

नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं ४ सिक्रेमा रहेको स्याउरेभूमे लघु जलविद्युत आयोजना कुनै समय ग्रामीण क्षेत्रको उज्यालोको ठूलो सहारा बनेको थियो तर जब २०७० सालमा केन्द्रीय प्रशारण लाइन गाउँगाउँमा पुग्यो तब यस्ता आयोजना धमाधम बन्द हुन थाले ।

त्यसपछि २०७१ सालमा कानुन संशाधन गरी न्युनतम २० किलोवाट क्षमताका आयोजनाले उत्पादन गर्ने विद्युत प्राधिकरणले खरिद गर्ने भएपछि स–साना विद्युत आयोजनालाई फेरि संचालन हुन प्रोत्साहन मिल्यो ।

राष्ट्रिय लाइनमा सबैभन्दा पहिले विद्युत जोडिएको स्याउरेभूमे लघुजलविद्युत आयोजनाले अहिले वर्षायाममा मासिक ६० हजारभन्दा मािथ र हिउँदमा २ लाखसम्मको आम्दानी गर्न सफल भएको छ ।

जसले खोला, खोल्सीमा बग्ने पानीमा गरिएको थोरै लगानीबाट मनग्य आम्दानी समेत गर्न सकिने उदाहरण देखाएको छ ।

नुवाकोटमा रहेका एक दर्जनभन्दा बढी लघु जलविद्युत् आयोजना भएपनि सबैबाट उल्लेख्य उपलब्धि भने पाउन सकिएको छैन ।

जसको लागि नीतिगत र कानुनी प्रावधान सहज  बनाउन सके आर्थिक समृद्धि गाँउका खोलाखोल्सीबाटै सम्भव रहेको सरोकारवालाको धारणा छ ।

नेपालमा ठूला लगानीमा निर्माण गरिने जलविद्युत आयोजनालाई प्रश्रय दिदै आइरहे पनि त्यसका अलावा ससाना लगानीका आयोजनाले पनि आर्थिक विकासका लागि ठूलै महत्व राख्नेछन् ।

Skip This