काठमाडौं, कात्तिक १३ । पछिल्लो समय प्रविधिमा भएको परिवर्तनसँगै मानिसमा पनि किनमेल गर्ने परम्परामा परिवर्तन आउन थालेको छ ।
मानिस आफूलाई आवश्यक पर्ने तयारी खाना, कपडा र खाद्यान्नहरु अनलाइनबाट किन्ने पनि बढ्दै गएको पाइन्छ ।
सामान किन्नकै लागि समयको खर्च गरेर हिँड्नु नपर्ने र घरमै बसिबसी सहजै किनमेल गर्नसमेत सकिने भएकाले पछिल्लो समय अनलाइन सपिङ लोकप्रिय हुँदै गएको बताइन्छ ।
पछिल्लो समयमा दराज अनलाइन सपिङ, मेरो सपिङ, किराना, फूडमान्डु, पसल नेपाल, स्मार्टडोको, सस्तोडिल, सोचेको डटकमलगायतका अनलाइन कम्पनीहरुले नेपाली बजारमा राम्रै स्थान लिन थालेका छन् ।
दैनिक उपभोग्य वस्तुहरु पनि अनलाइनका माध्यमबाट सहजै मानिसमा पुग्न थालेपछि अनलाइनको व्यापार उकालो लाग्दै गएको हो । यो सेवा युवापुस्तामा बढी लोकप्रिय हुँदै गएको पाइन्छ ।
अनलाइन सपिङ कम्पनीहरुले ग्राहकहरुले खोजेका वस्तु भनेकै स्थानमा सहजै पुर्याउन सहयोग गर्ने भएकाले यसको व्यापार मौलाउँदै गएको सोचेको डटकमका प्रबन्ध निर्देशक शैलेश लोहनी बताउँछन् ।
पछिल्लो समयमा २४ देखि ३२ वर्षका मानिसको यसप्रति आकर्षण बढिरहेको र सबैभन्दा बढी किनमेल गर्ने पनि यो समूह नै रहेको उनको भनाइ छ ।
सरकारी क्षेत्रबाट पनि आवश्यक सहयोग हुनसके प्रविधिमा भइरहेको परिवर्तनसँगै अनलाइन व्यापार पनि उल्लेख्यदरले बढ्ने व्यवसायीहरुको विश्वास छ ।









प्रतिक्रिया दिनुहोस्