काठमाडौं, कात्तिक १३ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा बुधबार दुई खेल हुँदैछन् ।
पहिलो खेलमा चितवन राइनोजले एक्सपर्ट धनगढीसित बिहान ९ बजे खेल्दैछ ।
यो खेलमा विजयी हुँदा दीपेन्द्रसिंह ऐरी नेतृत्वको एक्सपर्ट धनगढीले फाइनल खेल्ने सम्भावना कायमै राख्नेछ ।
लगातार दुई हार व्यहोरेको पारस खड्का नेतृत्वको चितवन पराजित भयो भने ऊ फाइनल प्रवेश सम्भावनाबाट बाहिरिनेछ ।
त्यसैगरी, दोस्रो खेलमा बुधबार दिउँसो सवा १ बजे विराटनगर टाइटान्स र बुटवल ब्लास्टर्स भिड्दैछन् ।
चर्चित युवा खेलाडी सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगरले लगातार तीन खेल हारेका कारण यो खेलमा पराजित भयो भने औपचारिकरुपमै फाइनल पुग्ने सम्भावनाबाट बाहिरिनेछ ।
सोमपाल कामी नेतृत्वको बुटवलले अहिलेसम्म शतप्रतिशत नतिजा निकालेकाले यो खेलमा जित हासिल गर्दा फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ ।
लिगमा दुई खेलबाट ४ अंकको बुटवल शीर्ष स्थानमा छ ।
तीन खेलबाट ४ अंकको शरद भेषावकर नेतृत्वको पोखरा पल्टन दोस्रो तथा दुई खेलबाट ४ अंकको ज्ञानेन्द्र मल्ल नेतृत्वको हुलास काठमाडौं रोयल्स तेस्रो स्थानमा छन् । २ अंकको धनगढी चौथो स्थानमा हुँदा विराटनगर र चितवन अंकविहीन छन् ।









प्रतिक्रिया दिनुहोस्