
ललितपुर, असार १० । ललितपुर महानगरपालिकाले तोकिएको मितिमा बजेट सार्वजनिक गर्न सकेन ।
बजेटलाई लक्षित गरेर कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट समयमा आउन नसकेको हो ।
यही असार २५ गतेमात्रै बजेट सार्वजनिक गर्ने महानगरपालिकाले निर्णय गरेको छ ।
यसैबीच, गोदावरी नगरपालिकाको बजेट सार्वजनिकीकरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीकी पम्फा भुसालले ललितपुर महानगरपालिकाले समयमा बजेट ल्याउन चुकेको बताइन् ।
‘समयमा बजेटमाथि छलफल नथाल्दा तोकिएको मितिमा बजेट आउन नसकेको हो’–उनले भनिन्–‘हिजोअस्ति बैठक नै नबसेर बल्ल आजदेखि सुरु भएको छ ।’
वडा नम्बर–३ का अध्यक्ष श्रीगोपाल महर्जन चैतबाट बजेटमा छलफल थाल्नुपर्नेमा अझैसम्म सुरु नभएको बताउँछन् ।
उनी भन्छन्–‘आजदेखि बल्ल उहाँले बजेटमाथि छलफल सुरु गर्नुभएको छ ।’
महानगर प्रमुख पटक–पटक विदेश भ्रमणमा गइरहँदा पनि समयमा हुन नसकेको उनको आरोप छ ।
वडा नम्बर–२७ का अध्यक्ष बाबुराजा महर्जनले छलफल गर्दागर्दै बजेटलाई पूर्णता दिन नभ्याएको बताए ।
उनले भने–‘ढिला भएपनि राम्रो बजेट ल्याउनुपर्छ ।’
बजेटमाथि विस्तृतरुपमा छलफल भइरहेको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्