२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चिकित्सकले भनेः प्रधानमन्त्रीको छातीमा संक्रमण र सुगरको मात्रा बढी छ (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक १२ । छातीमा संक्रमण र सुगरको मात्रा बढी भएपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

प्रधानमन्त्री ओलीलाई सोमबार बिहान साढे ४ बजे काठमाडौं, महाराजगन्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई सीसीयुमा राखेर एन्टिबायोटिक चलाइएको छ ।

कार्डियोथोरासिक विभागका निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको अवस्था सामान्य हुँदै गएको जानकारी दिए ।

दसैंलगत्तै सामान्य रुघाखोकी लागेका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि ज्वरो आएको थियो ।

तर, आइतबार रातिदेखि लगातार खोकी लागेकाले श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान उनलाई अस्पताल भर्ना गरिएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्री ओलीलाई दुई/तीन दिन अस्पतालमै राखेर उपचार गरिने जानकारी दिए । विदेश लगेर उपचार गर्नुपर्ने अवस्था भने अहिले नरहेको उनले बताइन् ।

उपचारका लागि प्रधानमन्त्री ओली भर्ना भएपछि बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ताहरु उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु र नेकपाका कार्यकर्ताहरु अस्पताल पुगेका थिए ।

अहिले पनि अस्पतालमा नेता तथा कार्यकर्ता पुग्नेक्रम जारी छ ।