९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


आहा ! क्या, सुविधा सम्पन्न इलाम कारागार


0
Shares

प्रकाश नेपाल/ईमेज:

इलाम । इलामको जिल्ला कारागार सुधार गृहको रुपमा विकसित हुँदै गएको छ ।

देशका अन्य कारागारको अवस्था दयनीय रहेको अवस्थामा इलाम कारागार भने सुधार गृहको रुपमा विकसित हुँदै गएको हो ।

यो कारागारमा रहेका कैदीबन्दीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने कारागारभित्रै ९ सय पुस्तक रहेको पुस्तकालय स्थापना गरिएको छ ।

त्यसैगरी जिमखाना, भलिवल, फुटसल, चेस, क्यारेम बोर्ड, ब्याडमिन्ट, स्किपिङलगायतका खेलका लागि सामाग्री र मैदानको व्यवस्था गरिएको जेलर भक्तबहादुर खड्काले जानकारी दिए ।

नेपालकै पहिलो नमुना कारागारको रुपमा भौतिक संरचना निर्माण गरिएको यो कारगारको क्षमता १ सय २५ जना रहेको छ ।

कारागारमा ७० बर्ष माथिका ज्येष्ठ नागरिकलाई बेग्लै स्थानमा राखिएको छ ।

नुहाउने र शौचालयको सहज पहुँच भएको कोठामा राखिएका ज्येष्ठ नागरिकका लागि चौकीदारको व्यवस्था गरिएको छ ।

कैदीहरुको अवस्था नियाल्न नाइटभिजन सिसिक्यामेरा जडान गरिएको छ भने स्वास्थ्य उपचारका लागि एक जना अहेवले कारागारमै सेवा प्रदान गर्दै आएका छन् ।

कैदीहरुले अध्ययन वाहेक हातमा सीप भएकाहरुले मुडा बुन्ने, पुतली बनाउने, टोपी बुन्नेदेखि क्यान्टिन चलाउने काम गर्ने गरेका छन् ।

मुडा बनाउने व्यवसायमा मात्रै ५० जना संलग्न रहेका छन् ।