१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा मृत्यु भए एक करोड ८५ लाख रुपैयाँ क्षतिपूर्ति


0
Shares

काठमाडौं, कार्तिक १२ । अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले आगामी मंसिर २९ बाट झण्डै दुई करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् ।

संसदबाट मन्ट्रियल महासन्धि अनुमोदन गरेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मा नेपाललाई रजिस्ट्रेसन गराएसँगै महासन्धिको व्यवस्थाअनुसार उक्त क्षतिपूर्ति रकम पाउने वातावरण बनेको हो ।

यसअघि अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले वार्सा सन्धिअनुसार क्षतिपूर्ति पाउने व्यवस्था थियो । उक्त व्यवस्थाअनुसार २० हजार अमेरिकी डलर क्षतिपूर्ति पाउँदै आएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार महासन्धि अनुमोदनपछि आइकाओमा औपचारिक निवेदन दिएर रजिस्ट्रेसन गराउनु पर्छ ।

भदौ पहिलो साता संसदबाट अनुमोदन भएको महासन्धिमा नेपाल सम्मिलित हुन असोज २९ गते औपचारिक निवेदन दिएको छ । आइकाओको नियमअनुसार औपचारिक निवेदन दिएको ६० दिनपछि महासन्धिमा सम्मिलित गराईन्छ ।

महासन्धि लागू भएपछि व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले एक लाख ५७ हजार दुई सय नौ अमेरिकी डलर एसडिआर (स्पेसल ड्रिविङ राइट) क्षतिपूर्ति पाउने पोखरेलले जानकारी दिए । उक्त रकम अहिलेको दरअनुसार एक करोड ८४ लाख हाराहारी नेपाली रुपैयाँ हुन आउँछ । –नागरिक दैनिकबाट