३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


पनामामाथि आधादर्जन गोल वर्षाउँदै इंग्ल्यान्ड अन्तिम १६ मा, केन ह्याट्रिकसहित उच्च गोलकर्ता


0
Shares

काठमाडौं, असार १० । इंग्ल्यान्ड विश्वकप फुटबलको अर्को चरणमा प्रवेश गरेको छ ।

आइतबार भएको समूह ‘जी’को खेलमा पनामामाथि ६–१ को फराकिलो जित हासिल गर्दै इंग्ल्यान्डले अन्तिम १६ मा ठाउँ बनाएको हो ।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । यो विश्वकपका लागि ५२औं तथा रुसमा जारी विश्वकपका लागि दोस्रो ह्याट्रिक हो ।

ह्याट्रिकसँगै केन जारी विश्वकपको सर्वाधिक गोलकर्ता बनेका छन् । यसअघि, ट्युनिसियाविरुद्ध २ गोल गरेका केनको गोलसंख्या ५ पुगेको छ । बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ४/४ गोल गरेका छन् ।

यस्तै, स्पेनका डिएगो कोस्टा र आयोजक रुसका चेरिसेभको नाममा ३/३ गोल रहेको छ ।

इंग्ल्यान्डलाई जिताउनेक्रममा जोन स्टोन्सले २ तथा जेस्सी लिंगार्डले एक गोल थपे ।

पहिलोपटक विश्वकप खेलेको पनामाका लागि फिलिप बालोएले एक कीर्तिमानी गोल फर्काए ।

इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई हराएको थियो भने पनामा बेल्जियमसँग हारेको थियो ।

यो जितसँगै लगातार दुई जितसहित इंग्ल्यान्ड अर्को चरणमा पुगेको हो । समूह ‘जी’बाट लगातार दुई जितसहित बेल्जियम पनि अर्को चरण पुगिसकेको छ ।

एक/एक खेल खेल्नुअघि नै पनामा र ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएका छन् ।