१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


काठमाडौं महानगरपालिकाले ल्यायो १३ अर्बको बजेट


0
Shares

काठमाडौं, असार १० । काठमाडौैं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको बैठकमा उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत् गरेकी हुन् ।

बजेटको स्रोतमा आन्तरिक आयबाट ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख उठाउने लक्ष्य राखिएको छ ।

वडास्तरमा पूर्वाधार निर्माणमा ३ अर्ब ६ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

कार्यालय सन्चालन र प्रशासनिक खर्चका लागि १ अर्ब ९३ करोड रुपैयाँ छुट्याइएको छ ।

शिक्षामा १ अर्ब १० करोड ४६ लाख बजेट छुट्याइएको छ भने हनुमानढोका–स्वयम्भू जोड्ने पदमार्ग निर्माण, ढुंगेधारा संरक्षणलगायतमा ५१ करोड ६७ लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै, भवन निर्माण, गाडी र अरु सम्पत्ति खरिदका लागि २ अर्ब ३६ करोड छुट्याइएको छ ।

महानगरभित्र मोनोरेल, इलेक्ट्रिक बस, फ्लाइस्काइ ब्रिज, इट्वाइलेटजस्ता कामको पूर्वसम्भाव्यता अध्ययन तथा डीपीआरका लागि १५ करोड १० लाख रुपैयाँ छुट्याइएको छ ।