
चितवन, कार्तिक ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको विकासले देशका लागि उत्प्रेरणा दिने बताएका छन् ।
भरतपुर महानगरपालिकामा आइतबार आयोजित ‘आयोजनाहरुको घोषणा’ कार्यक्रममा अध्यक्ष दाहालले चितवनमा विकास निर्माणले तीव्रता लिएको दाबी गर्दै सिंगो देशका लागि चितवनको विकास उत्प्रेरणा हुने बताएका हुन् ।
भरतपुर महानगर र चितवनलाई नमुना बनाउन प्रचुर सम्भावना रहेको भन्दै उनले विश्वले नै चासोका साथ चितवनलाई हेरेको बताए । उनले भने, ‘चितवनमा रेलमार्ग, ठोरी–केरुङ राजमार्ग, पेट्रोलियम पाइपलाइनलगायतका राष्ट्रिय योजनाहरु निर्माण हुँदै छन् । यसले चितवनको रुपरेखा बदल्छ ।’
उनले राजनीतिक विचार र सिद्धान्तसँग मात्र भन्दा पनि चितवन जिल्लालाई विश्वमै चर्चित बनाउने गरी पार्टी एकता गरेको बताए । चितवनको कार्यक्रमबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल भएको भन्दै दाहालले सिटी हल निर्माण र अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला चितवनमै निर्माण हुने घोषणा गरे । उनले भने, ‘प्रधानमन्त्रीजीले क्रिकेट रगंशाला र सिटी हल चितवनमै बन्छ, घोषणा गरिदिनुस् भन्नु भएको छ ।’
प्रतिक्रिया दिनुहोस्