
काठमाडौं, कार्तिक ११ । नेपाल प्रहरीले आजबाट ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।
शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले सार्वजनिक गरिएको अभियान देशैभर सञ्चालनमा आएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्र्दै गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न अभियान सफल हुने विश्वास व्यक्त गरे ।
उनले विकास र समृद्धिमा अपराध र अपराधी मुख्य बाधक भएको भन्दै यसलाई निस्तेज बनाउन जरुरी रहेको बताए । नियम कानुन पालना नगर्नेलाई कडा कारवाही गर्न पछि नहट्ने भन्दै उनले शान्तिपूर्ण र सुरक्षित समाज स्थापनाका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम उपलब्धिमुलक हुने उल्लेख गरे ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नेपाल प्रहरी, समुदाय, स्थानीय तह, सामाजिक संघ संस्था, विद्यालय र सञ्चारमाध्यमसँगको साझेदारीमा यसको परिकल्पना गरिएको जानकारी दिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई लगायतले अभियान सफल पार्न सबैले सहयोग गर्नु पर्ने बताएका थिए ।
समुदाय प्रहरी साझेदारी अभियानमा १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, ४ लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक संलग्न रहने नेपाल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्