पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लूजले पहिलो जित दर्ता गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढीले सन्दिप छामिछानेको विराटनगर टाईटन्सलाई ७८ रनले हरायो ।
१ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६ ओभर ४ बलमा अलआउट हुनुपूर्व १ सय ४ रन मात्रै बनाउन सक्यो ।
विराटनगरको लागि सुनिल धमलाले सर्वाधिक २१ रन जोडे । बलिङतर्फ धनगढीका ड्यान लरेन्सले ३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए ।
यसअघि आज बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ८२ रन जोडेको थियो ।
धनगढीका लागि इङ्ल्यान्डका खेलाडी पिटर ट्रिगोले ५३ रन बनाए ।
उनले ३८ बलमा ४ चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी कप्तान दिपेन्द्रसिंह ऐरीले २९ रन जोडे भने शौरभ खनालले ४१ रनको पारी खेले ।
पिपिएल क्रिकेटमा आजको दोस्रो खेलमा दिउँसो सवा १ बजे सोमपाल कामीको कप्तानीमा रहेको बुटबल ब्लास्टर्सले शरद भेषावकरको पोखरा पल्टनविरुद्ध खेल्दैछ । दुबै टोली जारी प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् ।








प्रतिक्रिया दिनुहोस्