
शिवहरि भट्टराई (इमेज)
राजविराज, असार १० । सप्तरीको राजविराज विमानस्थलमा आइतबारदेखि नियमित हवाई सेवा सुरु भएको छ ।
वि.सं. २०१६ सालमा केही समयमात्र हवाई सेवा सन्चालन भएर बन्द रहँदै आएको विमानस्थलमा पक्की धावनमार्ग निर्माण भएपछि नियमित हवाई सेवा सुरु भएको हो ।
निर्माणकार्य सकिएपछि गत जेठ ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेको विमानस्थलमा श्री एअरलाइनको विमानले नियमित हवाई सेवा सुरु गरेको छ ।
विमानस्थलमा नियमित हवाई सेवा सुरु भएपछि सप्तरीवासी उत्साही भएका छन् ।
सप्तरी उद्योग वाणिज्य संघले अब नियमित हवाई सेवाको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।
हवाई सेवा सन्चालन भएपछि सप्तरीबाहेक सिरहा, उदयपुर, ओखलढुंगाका साथै पशुपतिनाथ दर्शनका लागि जाने भारतीय यात्रीहरुका लागि सुुविधा हुने उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले बताए ।
विमानस्थलमा एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लम्बाइ र ६० मिटर चौडाइ एप्रोन तथा ११० मिटर लम्बाइ र २० मिटर चौडाइको ट्याक्सीवे निर्माण भएको छ ।
प्रतिक्रिया दिनुहोस्