
काठमाडौं, कात्तिक १० । साउदी अरेबियाका विदेशमन्त्री अदिल अल जुबेइरले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्नहरुलाई साउदी अरेबियामै मुद्दा चलाइने बताएका छन् ।
बहराइनमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै उनले खशोग्जी हत्या प्रकरणलाई पश्चिमा सन्चारमाध्यमले अनावश्यक उचालेको आरोप लगाए ।
खशोग्जीको हत्यामा संलग्न १८ जना साउदी नागरिकलाई सुपुर्दगी गर्न टर्कीले चाहना व्यक्त गरेको भोलिपल्टै साउदी विदेशमन्त्रीका तर्फबाट यस्तो भनाइ आएको हो ।
सम्मेलनमा बोल्दै अमेरिकी रक्षामन्त्री जिम म्याटिसले खशोग्जीको हत्याबारे कूटनीतिक तहमा सबैले गम्भीर चासो लिएको बताए ।
उनले हिंसाबाट पत्रकार खशोग्जीको मुख बन्द गराउने क्रुर कदम सहन नसकिने स्पस्ट पारे ।
साउदी पत्रकार खशोग्जीको टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा तीन हप्ताअघि हत्या भएको थियो ।
साउदी राजकुमारका कट्टर आलोचक मानिने खशोग्जीको हत्यामा साउदी राजपरिवारको संलग्नता रहेको आरोपलाई रियादले अस्वीकार गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्