Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


पाकिस्तान साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा


0
Shares

काठमाडौं, कात्तिक १० । पाकिस्तान साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो ।

समूह चरणको दोस्रो खेलमा पाकिस्तानले शनिबार भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खेलको २४औं मिनेटमा मुद्दसर नजरले गोल गर्दै पाकिस्तालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि इफ्तिखर अहमेदले पाकिस्तानको अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा मोइन अहमेदले तेस्रो गोल थपे । पहिलो हाफको अन्तिम समयमा मोइनले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई फराकिलो जित दिलाए ।

पहिलो हाफमा ४ गोल खाएको भुटान दोस्रो हाफमा खेलमा फर्कन सकेन । पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरे पनि भुटानले गोल गर्न सकेन ।

पहिलो खेलमा पाकिस्तानले बलियो प्रतिद्वन्द्वी भारतलाई बिहीबार भएको उद्घाटन खेलमा २–१ ले हराएको थियो ।

समूह ‘बी’मा पाकिस्तानले ६ अंक जोडेको छ । भुटान र भारत अंकविहीन छन् ।

समूह चरणको अन्तिम खेलमा भारत र भुटानले आइतबार खेल्नेछन् ।

शनिबारै हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा नेपालसँग पराजित माल्दिभ्सलाई अघिल्लो चरण पुग्न बंगलादेशलाई पराजित गर्नुपर्ने दबाब छ ।

आयोजक नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बंगलादेशसँग खेल्दैछ ।

यसअघि, नेपालले बिहीबारै भएको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले सहभागिता जनाएका छन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन् ।

सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो ।

प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुईपटक फाइनलमा हारेको थियो ।

यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बंगलादेशले सन् २०१५ मा उपाधि जितेको थियो । रासस