Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


नेपाल–भारतमैत्री पशुपति धर्मशाला सन्चालन भएन


0
Shares

काठमाडौं, कात्तिक ९ । नेपाल–भारतमैत्री पशुपति धर्मशाला उद्घाटन भएको डेढ महिनासम्म पनि सन्चालनमा आउन सकेको छैन ।

बिम्स्टेक सम्मेलनका अवसरमा गत भदौ १५ गते धर्मशाला उद्घाटन भएको थियो ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गरेको धर्मशाला त्यसलगत्तै सन्चालनमा आउने भनिएको थियो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले प्रतिवेदन दिएपछि धर्मशाला सन्चालन हुने कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले राससलाई जानकारी दिए ।

कात्तिक ११ गते आइतबारसम्म प्रतिवेदन आइपुग्ने र त्यसलगत्तै धर्मशाला सन्चालन हुने उनले सुनाए ।

तीनतारे होटलको सुविधा हुनेगरी बनाइएको धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

धर्मशाला निर्माणपछि नेपाल–भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’मा यात्रा गराउन सहज हुने विश्वास गरिएको छ । यसका कारण धार्मिक पर्यटन प्रवर्धन हुनेछ ।

तीलगंगा आँखा अस्पतालको दक्षिण–पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीनचोक, तीनतला र ५९ कोठा छन् ।

चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ । धर्मशालामा एकैपटक ४०० तीर्थयात्री बस्नसक्ने छन् ।

धर्मशालाको निर्माणपछि निम्न तथा निम्नमध्यम वर्गका यात्री पनि बस्नसक्ने गरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ ।

हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई धर्मशालाको व्यवस्था नहुँदा महँगो होटलमा बस्न बाध्य हुने गरेका छन् । रासस