१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


बुटवलले ल्यायो दुई विदेशी खेलाडी


0
Shares

काठमाडौं, कात्तिक ८ । पोखरामा यही शुक्रबारदेखि सन्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।

पोखरा रंगशालामा हुने प्रतियोगिताका लागि बुटवलले युएईबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी ‘मार्की प्लेयर’ रहेको बुटवलले दुई विदेशी ‘कोटा’मा रोहन मुस्तफा र चिराक सुरीलाई क्लबमा अनुबन्धन गरेको हो ।

प्रतियोगिताका लागि क्लबले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।

बुधबार चितवन राइनोजले पनि दुई इंग्ल्यान्डका खेलाडी क्लबमा अनुबन्ध गरेको थियो ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि सुरु भइ यही कात्तिक २० गतेसम्म सन्चालन हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

बुटवल ब्लास्टर्सको टोलीको स्वामित्वमा रामबहादुर विष्टसहितको व्यवसायीको युवा टोली ६ भने मार्की प्लेयरमा सोमपाल कामी छन् ।

पीपीएलमा बुटवल ब्लास्टर्सले पहिलो खेल कात्तिक १० गते चितवन राईनोजसँग खेल्नेछ ।

दोस्रो खेल कात्तिक ११ गते पोखरा पल्टनसँग, कात्तिक १४ गते विराटनगर टाइटन्ससँग, १५ गते धनगढी र १६ गते काठमाडौं रोयल्ससँग खेल्नेछ ।

विजेताले रु २७ लाख पुरस्कार पाउने सो प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक/एकथान मोटरसाइकल पाउनेछन् ।

प्रतियोगिताको बैंकिङ पार्टनर नबिल बैंक रहेको छ भने हस्पिटालिटी पार्टनरमा ओयो र मेडिकल पार्टनरमा ग्रान्डी अस्पताल रहेका छन् । रासस