
काठमाडौं, कात्तिक ८ । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एसियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बिहीबार बेलग्रेड प्रस्थान गरेका छन् ।
मन्त्री पुन नेतृत्वको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
सम्मेलन शुक्रबार र शनिबार दुई दिनसम्म चल्नेछ ।
मन्त्री पुनसँगै ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव दिनेश घिमिरे पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।
सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने तथा आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्री पुनले त्यहाँका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसँगसमेत भेटवार्ता गर्ने बताइएको छ ।
सम्मेलनमा युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागिता रहनेछ ।
सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावनाबारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्