
काठमाडौं, कात्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ ।
पार्टी एकतापछि पहिलोपटक विजया शमी, दीपावली, नेपाल संवत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमन्डपस्थित बगैंचामा हुने भएको छ ।
पार्टी एकता हुनुभन्दाअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए ।
गत वर्ष संघ र प्रदेशको निर्वाचनका कारणले चियापानको आयोजना गरिएको थिएन ।
चियापानको तयारीबारे बुधबार नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमन्डपस्थित चियापानस्थलको निरीक्षण गरे ।
चियापानका लागि नेकपाले करिब ५० हजारलाई निम्ता गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार चियापानमा करिब ३५ हजार सहभागी हुनेछन् । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ ।
केन्द्रीय सदस्य श्रेष्ठले दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिका लागि समय छुट्टाइएको बताए ।
दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुनेछन् ।
चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिनेछ । रासस
प्रतिक्रिया दिनुहोस्