
राजेन्द्रप्रकाश ढकाल (इमेज)
काठमाडौं, कात्तिक ६ । पार्टी र सरकार सन्चालनका विषयमा नेकपाभित्र देखिएको असन्तुष्टिको आगो तत्कालका लागि निभेजस्तो देखिएपनि सारमा यसले अझै सही निकास पाएको छैन ।
भर्खरै सम्पन्न सचिवालय बैठकको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले लेखेको ‘नोट अफ डिसेन्ट’ले पनि यसको पुष्टि गर्छ ।
वामदेव गौतमको सांसद बन्ने चाहनापछि त झन् नेकपाका शीर्ष नेता एकले अर्कोलाई शंकाको नजरमा हेर्न थालेका छन् ।
आफू विदेशमा गएको बेला प्रदेश इन्चार्च, सह–इन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिव चयन गरेको भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग रुस्ट भएका नेता नेपालले यसलाई सचिवालय बैठकमार्फत् टुंग्याउनुपर्ने बताउँदै आएका थिए ।
अध्यक्षद्वयको निर्णयसँग उनी कति असन्तुष्ट थिए भन्ने प्रमाण ओली र दाहाल विदेश भ्रमणमा रहेका बेला आफूनिकट स्थायी कमिटीका सदस्यसँग उनले गरेको बैठकले नै स्पस्ट पार्छ ।
नेपालनिकटका नेताहरुले पनि सचिवालयको निर्णयलाई कुनै न कुनैरुपमा सच्याउनुपर्ने दबाब दिँदै आएका थिए ।
नेता नेपालले आफ्नो असहमति लिखितरुपमै सचिवालयमा दर्ता गराएका थिए । उनी आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त पनि थिए । तर, परिस्थिति नेपालका लागि सोचेजस्तो भएन ।
आइतबार र सोमबार बसेको सचिवालय बैठकले उनले उठाउँदै आएको मागलाई पूर्णरुपमा खारेज गरिदिएको छ ।
प्रदेश कमिटी गठनका विषयमा अघिल्लोपटकको सचिवालयले गरेको निर्णय उल्ट्याउन ओली र दाहाल तयार भएनन् । अन्ततः बैठकले पुरानै निर्णयलाई सदर गर्यो । नेपाल पछि हट्न बाध्य भए ।
आगामी दिनमा ‘विधि र प्रक्रियाबाट पार्टीलाई अघि बढाइनेछ’ भन्ने ओली र दाहालको आश्वासनबाहेक केही पाएनन्, नेता नेपालले ।
सचिवालयको निर्णयप्रति नेता नेपालले नोट अफ डिसेन्ट लेखेका छन् । यसले नेकपाभित्रको विवाद अझै कायम छ भन्ने संकेत गर्दछ ।
नेता नेपालले यो विषयलाई स्थायी कमिटीमा पनि प्रवेश गराउने तयारीमा छन् । स्थायी कमिटीमा उनको राम्रै पकड छ ।
बढीभन्दा बढी सदस्यहरुलाई आफूले उठाउँदै आएको विषयमा बोल्न लगाएर उनी आफ्नो शक्तिको आभास अध्यक्षद्वयलाई दिने रणनीतिमा छन् । पछिल्लो बैठकपछि नेपाल केही रक्षात्मक अवस्थामा पुगेका छन् ।
नेता नेपालको असन्तुष्टिको व्यवस्थापन नहुनु त छँदैछ, एकर्काप्रति सशंकित देखिएका नेताहरुको मन पनि माझिन सकेन ।
अघिल्लो वर्षको चुनावसम्म सुषुप्त अवस्थामा रहेको वामदेव गौतम र ईश्वर पोखरेलको विवाद अहिले उत्कर्षमा पुगेको छ ।
वामदेवलाई सांसद बनाउने बाटो खोल्न रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिएपछि त्यसलाई विभिन्न कोणबाट अर्थ लगाउँदै नेकपाका नेताहरु एकर्काप्रति सशंकित देखिएका छन् ।
एकर्कालाई घेराबन्दीमा पार्न लागेको बुझाइ उनीहरुमा पलाएको छ । ओलीले गौतमलाई ‘भारतीय डिजाइन’मा सांसद बनाउन खोजेको भनेपछि दाहाल पनि केही झस्किएका छन् । ईश्वर पोखरेलले त खुलारुपमै यसलाई भन्ने गरेका छन् । ओलीसँग वामदेवको दूरी केही बढेको छ ।
ओलीले थप विश्वासमा लिन खोजेपछि एकैकित्तामा उभिने गौतम र दाहालबीच पनि चिसो बढेको छ ।
उता, भारतसँग जोडेर पोखरेलले शंकाको नजरले हेरेकामा दाहाल असन्तुष्ट छन् ।
यी सबै घटनाक्रमलाई केलाउने हो भने नेकपाको सचिवालयमा केही नयाँ समीकरणको सम्भावना पनि देखिएको छ ।
हुन त नेताहरुले पछिल्लो सचिवालय बैठकमा ‘मन माझामाझ’ भएको प्रतिक्रिया दिएका छन् ।
उनीहरुले तत्कालीन घटनाक्रममा नेताहरु मुद्दाका आधारमा मिले पनि गुटको तहमा पुगिनसकेको जिकिर गरेका छन् ।
पार्टी एकीकरणको अधिकांश काम नसकिएको, सरकार सन्चालनका विषयमा बढ्दो असन्तुष्टिले नेकपाभित्रको विवाद तत्काल सुल्झिने सम्भावना भने कम छ ।
प्रतिक्रिया दिनुहोस्