
रविन भट्टराई/ईमेज
झापा । झापाको कनकाई नगरपालिका स्थित पर्यटकीय क्षेत्र गैडे आहाल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
प्राकृतिक सौन्दर्य र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिएपनि प्रचारप्रसार नहुँदा गैंडे आहाल छायामा परेको छ भने यसको संरक्षण नहुँदा आहालको अस्तित्व समेत संकटमा छ ।
प्राकृतिक रुपमा सुन्दर र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिएको यस क्षेत्रबाट पर्यटन व्यवसाय फस्टाउन सकिने थुप्रै आधार र प्रचुर सम्भावनाहरु छन् ।
तर पनि यस ठाउँको महत्वबारे प्रचार प्रसार हुन नसक्दा संभावित उपलब्धि प्राप्त गर्न सकिएको छैन ।
यो आहालमा पहिले गैंडा आहाल खेल्ने र नजिकैको बनमा घुम्ने हुँदा यो आहाललाई गैडे आहाल भनिएको प्रजापति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुर्यकुमार थापा बताउँछन् ।
तर पछिल्लो समय वन क्षेत्रमा हात्ती र गैडा बस्न छाडेका छन् भने आहाल पनि पुरिँदै गएको छ ।
‘दश बिघा क्षेत्रफलमा फैलिएको यो आहाललाई उत्खनन् गरेर सिमसार बनाउने तयारीमा लागेको अध्यक्ष थापाको भनाइ छ ।
वन भित्र घुम्ने, छहारीमा बसेर पोखरीको अवलोकन गर्दा आह्लादित नहुने सायदै होलान् ।
यस्ता क्षेत्रको उचित संरक्षण र प्रचार गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन ।
यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीय त लाभान्वित हुने नै छन् त्यसमा पनि सामाुदायिक वन संरक्षणमा पनि टेवा पुग्नेछ ।
पुर्व-पश्चिम राजमार्गस्थित झापाको दुर्गापुरबजारबाट चार किलोमिटर उत्तरमा रहेको यो क्षेत्रको विकास गर्न सके हजारौं पर्यटक आकर्षित हुनेमा कुनै शंका छैन ।
नेपालको पर्यटन विकासको मेरुदण्डको रुपमा रहेका यस्ता प्राकृतिक र ऐतिहासिक सम्पदाको खोजिखोजी संरक्षण र प्रचारप्रसार गरी आयआर्जन गर्नेतर्फ ध्यान पुर्याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्