१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


भारतीय केराका कारण नेपाली केरा किसान मर्कामा


0
Shares

-विराज रोस्यारा/ईमेज

कैलाली । कैलालीका केरा खेती गर्ने कृषकले भारतीय केराको कारण आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।

भारतबाट केरा सस्तो मूल्यमा आयात भइरहेकोले आफूहरुको उत्पादनले लागतअनुसारको मूल्य पनि पाउन नसकेको उनीहरुको गुनासो छ ।

यतिबेला कैलालीका केरा किसान चिन्तित बनेका छन् । वर्षैभरी भारतीय केरा अनियन्त्रित रुपमा आयात भइरहने र स्वदेशी उत्पादनले त्यससँग प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्था छ ।

एकातिर भारतीय केराको भन्सार मूल्य सस्तो भएपनि उपभोक्तासम्म पुग्दा महंगो पर्ने गरेको छ भने अर्कोतिर नेपालमा उत्पादित केराको लागत महँगो भएकोले भारतीय केराले नै बजारमा एकाधिकार जमाइरहेको छ ।

जसका कारण किसानहरु चिन्तित मात्रै छैनन् बजार नपाएपछि  उत्पादन त्यत्तिकै खेतमा सडेर गइरहेको छ ।

स्वदेशी उत्पादकलाई  संरक्षण गर्न राज्यले कुनै पहल नगरेको कृषक लक्षिराम आचार्यको गुनासो छ ।

भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि केराको खेती गर्ने कृषकहरु घट्दै गएका छन् भने कतिपयले कम जग्गामा मात्र खेती गरिरहेका छन् ।

केरा उत्पादनको लागि अनुकूल मानिएको कैलालीमै भारतीय उत्पादनले नेपाली उत्पादनलाई नियन्त्रणमा राखेको छ ।

अधिकांश कृषकहरु भारतीय मूल्यमा केरा बिक्री गर्दा लगानी नै नउठ्ने गुनासो गर्न थालेका छन् ।

बिक्री नभएपछि १६ रुपैयाँमा एक दर्जन केरा बेचेर चित्त बुझाएको अर्का किसान नारद प्रसाद पन्तको दुखेसो छ ।

कतिपय किसान भने भारतीय केराको मूल्यलाई भन्सारमा समायोजन गरेर ल्याउँदा आफूहरुलाई समस्या नपर्ने बताउँछन् ।

प्रतिस्पर्धात्मक बजार व्यवस्थामा मूल्य सस्तो हुनु त राम्रै हो तर स्वदेशी उत्पादनलाई संरक्षण गर्नु  र उत्पादकलाई प्रोत्साहन गर्नुपनि अर्को चुनौती हो ।