१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


रत्ननगरमा चार लेन सडक निर्माणको पुरानो डिजाइन फेल, नयाँ काम सुरु


0
Shares

चितवन । पूर्व–पश्चिम राजमार्गअन्र्तगत पूर्वी चितवनको रत्ननगरमा निर्माणाधिन चार लेन सडक डिजाइन अनुपयुक्त भएपछि पुनः नयाँ डिजाइन अनुसार काम थालिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिले गरेको डिजाइन गलत हुँदा सडक निर्माणकै क्रममा भत्किएको थियो ।

रत्ननगरको लौरीघोलदेखि टाँडी चोकसम्म सडक भत्कने, पिच पोका पर्नेलगायतका समस्या देखिएपछि नयाँ डिजाइन अनुसार काम थालिएको निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्ट्रक्सन प्रालिका इन्जिनियर अनिश रेग्मीले जानकारी दिए ।

प्रालिले रत्ननगरको लौरीघोलदेखी निपनीसम्म करिव २ दशमलव ३ किलोमिटर सडक चार लेनको बनाउँदै छ ।

नयाँ डिजाइन अनुसार लौरीघोलदेखी टाँडीचोकसम्मको करिव २ सय ६० मिटर मात्रै पुनःनिर्माण हुने इन्जिनियर रेग्मीले बताए ।

रेग्मीका अनुसार अव २० सेन्टीमिटर सव–बेस, १५ सेन्टीमिटर बेस र २० सेन्टिमिटर पिचको काम हुनेछ ।

यसअघि १५ सेन्टीमिटर बेस र ५ सेन्टिमिटर  पिच भएको थियो । जसका कारण सडक भत्कने, उप्कने, पिच पोका पर्ने समस्या रहेको थियो ।

श्रेष्ठ कन्ट्रक्सन प्रालिले १९ करोड ७० लाखमा चार लेन सडक निर्माणको ठेक्का लिएको थियो ।