
प्रकाश मैनाली (इमेज)
सर्लाही, कात्तिक १ । १० वर्षदेखि जीर्ण सर्लाहीस्थित नवलपुर–मलंगवा सडकखन्डमा धमाधम काम हुँदै गएपछि स्थानीय हर्षित भएका छन् ।
तर, समयमै काम नसकिने हो कि भन्ने चिन्ता उनीहरुमा छ ।
सर्लाही पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने एकमात्र मुख्य सडकखन्डअन्तर्गत् नाला एवं कल्भर्ट निर्माणसहित कालोपत्रे सुरु भएपछि स्थानीय खुसी छन् । समयमै काम सकिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।
२५ किलोमिटर लामो यस सडक निर्माणका लागि २०६५ भदौ ३० गते ५९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०६९ साल चैत १४ गते तत्कालीन भारतीय राजदूत जयन्त प्रसादले यो आयोजनाको शिलान्यास गरेका थिए ।
भारतीय निर्माण कम्पनी भीष्वा कन्स्ट्रक्सनले झन्डै दुई वर्षसम्म ५ प्रतिशत पनि काम नगरी बीचैमा छाडेको थियो ।
त्यसपछि पुनः २०७३ साल भदौ ३१ गते दुईवर्षे समयावधिसहित दुई ठेकेदार कम्पनीसँग सम्झौता भएकामा समयमै काम सम्पन नहुने भएपछि पुनः तीन महिना म्याद थपेर काम भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।
नवलपुर–मलंगवा सडकखन्ड बनेपनि फूलजोर–त्रिभुवननगर, संग्रामपुर–पर्सा, नयाँरोड–मधुवनी, हरिवन–कौडेनालगायतका बाटा निर्माण कछुवाको गतिमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्