१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


दसैं मनाउन मामाघर आएका बालकको कोसीमा डुबेर मृत्यु


0
Shares

सप्तरी, कात्तिक १ । दसैं मनाउन मामाघर आएका एक बालकको कोसी नदीमा डुबेर मृत्यु भएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोसी नदीमा नुहाउनेक्रममा सुनसरी, भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१४, डलवास्थित मामाघर आएका उनी आधा घन्टाको दूरीमा रहेको स्थानमा नुहाउन गएका थिए ।

बालकसँग नुहाउन गएका मामाका छोरा र सानीआमाका छोराले बचाउने प्रयास गरेपनि कोसी नदीको भंगालोमा फसेकाले बचाउन नसकेको परिवारका सदस्यले बताएका छन् ।

बालकको मृत्युले माइजु पिंकी यादव, मामाघरकी हजुरआमा धनेश्वरीदेवी र उनकी देवरानी हरीहरदेवी बेहोस भएका छन् ।

अचेत अवस्थमा उनीहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

वृद्धाको शव फेला

यसैबीच, सप्तरीको सप्तकोसी नदीमा करिब ६५ वर्षीया एक वृद्धाको शव फेलापरेको छ ।

कोसी ब्यारेजको ढोका नम्बर ५२ र ५३ को मध्यभागमा अड्किएको अवस्थामा वृद्धाको शव निकालिएको इलाका प्रहरी कार्यालय कन्चनरुपले जानकारी दिएको छ ।

शवको परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा गरिएको छ । अहिलेसम्म शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । रासस