२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


चन्द्रनहर अतिक्रमण तथा मर्मत सम्भारको अभावमा उपेक्षित


13
Shares

राजविराज । मुलुककै सबैभन्दा पुरानो सप्तरीको चन्द्रनहर अतिक्रमण तथा मर्मत सम्भारको अभावमा उपेक्षाको शिकार भएको छ ।

तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९८० सालमा निर्माण गरेको यो नहरले सप्तरीको कूल ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउँदै आएको थियो ।

तर नहरको मर्मत सम्भार नहुँदा एक दशकदेखि कूल सिँचित क्षेत्र मध्ये आधा भागमा मात्र सिँचाई हुने गरेको छ ।

वर्सेनि बाढीका कारण विभिन्न ठाउँमा नहर भत्किने गरेको तथा मर्मत सम्भारमै एक वर्ष लाग्ने गरेकाले नहरको कमाण्ड एरियासम्म पनि सिँचाइ पुग्न सकेको छैन ।

गत वर्षको बाढीले सुब्बाटोल, बुधेवा, महुली, गंगाजली, मैनाकडेरी, बढहरालगायत आधा दर्जन स्थानमा नहर भत्किएको थियो ।

नहरको मर्मत सम्भारका लागि अहिलेसम्म ९ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर मर्मत सम्भारको काम पनि सकिएको छैन ।

डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत सरकारी बजेट समाप्त पार्ने काम गरे पनि मर्मत सम्भारलाई गुणस्तरीय बनाउन ध्यान नदिँदा आफूहरुलाई सिँचाइ गर्न समस्या हुने गरेको किसानहरुको गुनासो छ ।