
सरोज अधिकारी/उत्तम मानन्धर (इमेज)
काठमाडौं, असोज ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गएको छ ।
अघिल्लो दसैंको फुर्सदिलो समयलाई पार्टी एकीकरणको आधार बनाउन प्रयोग गरेका नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले पार्टीको माथिल्लो तह एकीकरण भएको ६ महिना पुगिसक्दा पनि तल्लो तहको एकता प्रक्रिया भने अघि बढाउन सकेका छैनन् ।
शीर्ष तहमै तल्लो तहको एकता कसरी गर्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।
खासगरी एकताअघिको नेकपा एमालेभित्रको गुटको प्रभाव अहिले पनि देखिएका कारण समस्या भएको हो ।
प्रदेश समिति र प्रदेश इन्जार्च बनाउने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आफूखुसी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सार्वजनिकरुपमै असन्तुष्टि जनाएपछि तल्ला तह झन् कसरी मिलाउने भन्ने विषयमा नेताहरुबीच विवाद बढेको छ ।
अध्यक्षद्वय कार्यक्षमताका आधारमा एकीकरण प्रक्रिया टुंग्याउनुपर्ने पक्षमा छन् भने नेता नेपाल पक्ष विधि, प्रक्रिया र संस्थागत निर्णयका आधारमा यो विषयको निरुपण गर्नुपर्नेमा छ ।
लामो समयसम्म पार्टीका सबै स्थानीय तह भंग हुनु र नयाँ पनि बन्न नसक्दा कार्यकर्तामा निराशा आएको भन्दै नेतृत्वलाई तत्काल तल्ला कमिटी बनाउन दबाब बढेको छ । तर, नेतृत्व आफ्नो प्रभुत्व गुम्ने डरका कारण यसबारे निर्णयमा पुग्न सकिरहेको छैन ।
यस विषयमा निर्णय गर्न बोलाइएको नेकपा बैठक पटक–पटक स्थगित भइसकेको छ ।
नेकपा स्थायी समिति सदस्य वेदुराम भुसाल नेताहरुको व्यस्थता र केही विवादका कारण एकता प्रक्रिया टुंगो लगाउन समय लागेको बताउँछन् ।
नेकपाभित्र पार्टी एकतामात्र होइन, सरकार सन्चालनका विषयमा पनि प्रश्न उठ्न थालेको छ ।
सबै विषयमा छलफल गर्न भन्दै नेकपाले आगामी कात्तिक ४ र ५ गते सचिवालय बैठक तथा १२ र १३ गते स्थायी समिति बैठक बोलाएको छ ।
स्थायी समिति सदस्य भुसाल विधि–प्रक्रियाबाट नेतृत्व चयन हुनसकेमात्र विवाद निरुपण हुने अन्यथा पार्टीको विवाद थप पेचिलो हुँदै जाने बताउँछन् ।
नेकपाभित्र अहिले आफ्ना मान्छेलाई महत्वपूर्ण जिम्मेवारीमा राख्ने कि पार्टीलाई गतिशील बनाउने भन्ने लडाइँ चर्किएको छ ।
प्रतिक्रिया दिनुहोस्