१३ आश्विन २०८०, शनिबार | Sat Sep 30 2023


कांग्रेस जिल्ला सभापतिहरुको भेला यथास्थितिवादकै निरन्तरता !(भिडियो)


0
Shares

-सरोज अधिकारी/ईमेज:

काठमाडौं, असार ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला १९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

निर्वाचन हारपछि पहिलो पटक बसेको सभापतिहरुको भेलाबाट पार्टीभित्रको एकता र नयाँ जागरण ल्याउने अपेक्षा गरिएको भए पनि त्यो हुन नसकेको टिप्पणीहरु हुन थालेका छन् । विश्लेषकहरुले सभापतिहरुको भेला यथास्थितिवाद कै निरन्तरता भएको टिप्पणी गरेका छन् ।

वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सकिएको कांग्रेस  सभापतिहरुको भेलाले पार्टी सुधारका लागि खासै नयाँ कार्यक्रम सार्वजनिक गर्न सकेन ।

भेलाले न त आम मानिसलाई कांग्रेसप्रति आकर्षित गर्ने कुनै रणनीति बनाउन सक्यो न त पार्टीभित्रको गुटगत राजनीतिलाई नै व्यवस्थापन गर्न सक्यो ।

चार दिनसम्म चलेको भेलामा ७७ जिल्लाका  सभापतिहरु फगत दुई धु्रबमा बाँडिएर आरोप प्रत्यारोप मै रमाए । नेतृत्वको आलोचना र विगतकै समीक्षामा भेला रुमलियो ।

पार्टीलाई नयाँ ढंगले अघि बढाउन कसैले पनि ठोस प्रस्तावसमेत ल्याउन सकेन । सभापतिहरुको भेलाबाट पार्टी सुधारका लागि केही प्रतिबद्धता आउने अपेक्षा कांग्रेस कार्यकर्ता र शुभचिन्तकको अपेक्षा थियो ।

तर, जिल्ला सभापतिले त कांग्रेस बलियो बनाउने उपाय सुझाएनन् नै, केन्द्रीय नेतृत्वले समेत थप उर्जा र जागरण दिन सकेन ।

तल्लो तहका निकायलाई शक्तिशाली बनाउने गरी विधान परिमार्जन गर्ने कुरा सभापतिहरुको साझा मुद्धा बन्यो ।

राजनीतिक चिन्तक पुरन्जन आचार्य कांग्रेस सभापतिहरुको भेला यथास्थितिवादबाट माथि उठ्न नसकेको टिप्पणी गर्छन । नेतृत्वबाट अपेक्षा छैन भन्नेहरुले समेत भेलामा नयाँ कुरा ल्याउन नसकेको टिप्पणी आचार्यको छ ।

कांग्रेस भेला पार्टीभित्रको एकताको सन्देश दिन सफल त भएन नै । आम मासिनलाई पार्टी र देशका समस्यालाई समेत कांग्रेससँग जोडेर हेर्न सकेन ।

युवा पुस्तालाई पार्टीप्रति जिम्मेवार बनाउने उपयुक्त समयमा भएको भेलाले कुनै पनि विषयमा ठोस निर्णय गर्न नसक्दा नेतृत्व पंक्ति नै नराम्ररी चुकेको विश्लेषण आचार्यको छ ।

समग्रमा कांग्रेस सभापतिहरुको भेलाले जनसरोकारका विषयमा ठोस निर्णय गर्न नसके पनि पार्टीभित्रका असन्तुष्टि एकैठाउँमा राख्ने वातावरण सिर्जना गरेर नेतृत्वलाई बुझाउने अवसर सिर्जना गरेको छ ।

यसले भावी दिनमा पार्टी नेतृत्वलाई आफूले गरेका गल्ती स्वीकार गर्दै नयाँ ढंगले अघि बढ्न भने मार्गप्रसस्त गरेको छ ।