
काठमाडौं, असोज २९ । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ ।
आयोजनाले सोमबार एक सूचनामार्फत् रु एक अर्ब ५८ करोड बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको हो ।
आयोजनाले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण सेयर बिक्री गरिसकेको छ ।
यस्तै, गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीलाईसमेत साधारण सेयर बिक्री गरिसकेको छ ।
आयोजनाले दोलखावासीलाई रु एक अर्ब पाँच करोड बराबरको साधारण सेयर बिक्री गरेको थियो ।
तेस्रो चरणमा आमसर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको आयोजनाले जनाएको छ ।
दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको आयोजना हो ।
स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजना आगामी पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि निर्माण व्यवसायीले तोकिएअनुसार काम नगर्दा केही समय पर धकेलिने अवस्था सिर्जना भएको हो ।
आयोजनाले आमसर्वसाधारणका लागि न्यूनतम् ५० कित्ता र अधिकतम् एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
धितोपत्र निष्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुनेछ ।
आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।
सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् ।
निर्माण सामग्रीको ढुवानीमा देखिएको समस्याका कारण आयोजनाको निर्माण प्रक्रियामा केही शिथिलता आएपनि दसैंलगत्तै निर्माणकार्यले तीव्रता पाउने विश्वास लिइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्