१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


भक्तपुरका सहकारीहरुलाई साधारणसभा चटारो


0
Shares

भक्तपुर । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभाले अध्यक्ष कृष्णकाजी मानन्धरको नेतृत्वमा सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।

पुनर्गठित समितिमा उपाध्यक्ष संजय कुमार श्रेष्ठ, सचिव सुन्दरलाल श्रेष्ठ, कोषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ तथा सदस्यहरुमा अनिल श्रेष्ठ, रमेश थुसा श्रेष्ठ र डा. उज्ज्वल जोशी छन् ।

लेखा सुपरिवेक्षण समितिमा संयोजक सुन्दर श्रेष्ठसँगै सदस्यहरुमा राजकुमार नापित र कृष्णसुन्दर प्रजापति निर्वाचित भए ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सहकारी ऐन २०७४ लाई पुस मसान्तभित्रमा पारित गर्ने बताए ।

स्थानिय स्वायत्त शासन ऐन अन्तर्गत ऐन बनाउने सन्दर्भमा हचुवा सहकारी ऐन स्वीकार्य नहुने भन्दै परिपक्व ऐन बनाउने जनाए ।

‘अब सहकारी लगायत अन्य विषयगत संस्था स्थानिय सरकार अन्तर्गत आएको भएर यिनीहरुलाई थप व्यवस्थित रुपमा चलाउनुपर्ने भएको छ ।

त्यसैले नगरपालिकामा आएर सम्पूर्ण सहकारीहरुलाई दर्ता गर्न आह्वान गर्छु ।’ मेयर श्रेष्ठको भनाई थियो ।

संस्थाभित्रको संस्थागत सुशासन कायम गर्न समेत श्रेष्ठले आग्रह गरे ।

करिव ४५ मिनेट बोलेका मेयर श्रेष्ठले छोटो अवधिभित्र नगरभित्र थालेका विकास निर्माण तथा दीर्घकालीन योजनाको विषयमा समेत जानकारी गराए ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर तथा समाजसेवी मदनकृष्ण श्रेष्ठले बचत तथा ऋण सहकारीले नगरबासीलाई साना तथा घरेलु व्यवसायमा प्रोत्साहित गरेको दाबी गरे ।

सानातिना बचत गरेर जीवनस्तर सुधार गर्नेमा सहकारी संस्थाको भूमिका अहम् भएको उनको तर्क थियो ।

‘एकका लागि सबै, सबैका लागि एक नै सहकारिता हो’ भन्ने नारा दिएर अघि बढेको संस्थाले सेयर सदस्यहरुलाई सीप विकास, क्षमता अभिवृद्धि तथा स्वास्थ्य सम्बन्धिको निशुल्क सेवा दिँदै आएको अध्यक्ष सुमन श्रेष्ठले बताए ।

संस्थाले विगत एघार वर्ष यतादेखि सहकारी ऐन २०४८ अन्तर्गत रही स्थानिय व्यवसाय प्रबद्र्धन तथा नगरबासीको जीवनस्तर सुधार गर्नेमा सहयोगी भूमिका निभाउँदै आएको छ ।

शंखधर चोकस्थित यचु पार्टी भेन्यूमा आयोजित कार्यक्रममा नगरका उप प्रमुख अन्जना मधिकर्मी, चार नम्बर वडाका वडाध्यक्ष कुमार श्रेष्ठ, समाजसेवी रमेश थापा श्रेष्ठ, कृष्णलाल गोजा श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य उमेश श्रेष्ठ, रामकेशरी श्रेष्ठ, सहकारी संघ भक्तपुरका उपाध्यक्ष पन्चकृष्ण श्रेष्ठ, सिवाः साय्मि खलःका अध्यक्ष अष्टरत्न मानन्धर तथा थिमि क्षेत्रका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा रु. ४ लाख ५५ हजार ३३२।९० खुद नाफा गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।

२०६४ सालमा २८ जना सदस्यहरुले प्रतिव्यक्ति पाँच–पाँच हजार रुपियाँ लगानी गरी सुरु गरेको संस्थामा हाल रु.६ करोड ५१ लाख ७५ हजार ५ सय चार निक्षेप संकलन भएको छ ।

मध्यपुर थिमि सहकारीले १०९४ जना सेयर सदस्य बनाएको छ । सहकारी ऐन २०७४, निर्देशिका र विनियम बमोजिम संस्थाले असोजभित्र साधारण सभा गरिसक्नुपर्ने भएर बडा दसैं अघि भक्तपुरका अधिकांस सहकारी संस्थाले साधारण सभा गरिरहेका छन् ।