
काठमाडौं, असोज २८ । मलेसिया र नेपाल सरकारबीच कार्तिकमा कामदार लान ‘जिटुजी’ समझदारी हुँदैछ ।
मलेसिया सरकारले नेपाली श्रमिक आपूर्तिका लागि पठाएको समझदारीपत्र (एमओयू) मा दुवै देशका सरकारी अधिकारीबीच आगामी कात्तिक १२ गते हस्ताक्षर हुने भएको हो । समझदारीपत्रमा हस्ताक्षरका लागि मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरन नेपाल आउने भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एमओयूको मस्यौदामाथि अध्ययन र छलफल गरी संशोधन गरेर दोस्रो पटक मलेसियाको मानव संशाधन मन्त्रालयमा पठाएको थियो । मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारीस्तरबाटै श्रम सम्झौता गरी नयाँ प्रणालीमार्फत कामदार लिने इच्छासहित गत महिना समझदारीको मस्यौदासहित प्रस्ताव पठाएको थियो ।
नेपालले भदौ पहिलो साता मस्यौदाको पहिलो ड्राफ्ट पठाएको थियो । पछि पुनः मस्यौदामा छुटेका र कामदारका हकमा पर्न नसकेका विषयवस्तुलाई समेट्दै संशोधनसहित दोस्रो पटक ड्राफ्ट मलेसिया पठाएको हो ।
नेपाली कामदारका समस्या समाधान हुने गरी गरिएको मस्यौदामा मलेसियाली सरकारले सहमति जनाई हस्ताक्षर हुने भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्