१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


सम्झनामा चक्रप्रसाद बास्तोला (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं, असोज २८ । चक्रप्रसाद बास्तोला नेपाली कांग्रेसभित्र बौद्धिक र बागी नेताको रुपमा परिचित थिए । २०४६ साल अघिको पञ्चायतविरुद्ध कांग्रेसले थालेको संघर्ष र १० बर्षे माओवादी सशस्त्र युद्धको शान्तिपूर्ण अवतरणमा उनको सम्झनलायक योगदान रह्यो । 

नेता बास्तोला वीपी कोइरालाको प्रेरणाले राजनीतिमा प्रवेश गरेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा होमिएका वीपी कोइरालाको साथ र संगतमा उनले राजनीति थालेका थिए । बनारस विश्वविद्यालयमा अध्ययनरत रहेको अवस्थामा उनको वीपीसँग सम्पर्क बढेको थियो ।

भारतमा रहँदा बास्तोला वीपीको निकै विश्वासपात्र मध्येका एक थिए । त्यसको पुष्टि बंगलादेशका स्वतन्त्रता सेनानीहरुलाई वीपीले चाँजोपाँजो मिलाईदिएको एक ट्रक हतियार बोकेर उनी बंगलादेश गएको कुराले पनि पुष्टि हुन्छ ।

भारतीय पत्रकार भोलानाथ चटर्जीलाई दिएको एक अन्तवार्तामा वीपीले बास्तोलालाई ‘तेजस्वी युवा’को उपमा दिएका छन् । कांग्रेसले थालेको सशस्त्र आन्दोलनको तयारीका एक महत्वपूर्ण हिस्सा थिए बास्तोला । हतियार खरिददेखि त्यसको व्यवस्थापन सम्मको जिम्मा बास्तोलालाई नै दिइएको थियो ।

विमान अपहरण काण्डले उनलाई राष्ट्रिय राजनीतिमा चर्चित युवक बनायो । विमान अपहरणको बेला भारतबाट सबै चाँजोपाँचो सुशील कोइराला र चक्र बास्तोलाले मिलाएका थिए । पछि दुवैजना पक्राउ परेर ३ वर्ष जेल बसे । उनी खतरा मोल्न सक्ने क्रान्तिकारी योद्धा थिए । २०४६ सालको जनआन्दोलनको सफलतापछि बास्तोला निर्वासनबाट स्वदेश फर्किए ।

२०४८ सालको आम निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्दा उनी तत्कालिन नेकपा एमालेका चर्चित नेता राधकृष्ण मैनालीसँग पराजित भए । लगत्तै बनेको कांग्रेसको सरकारले उनलाई भारतको लागि राजदूत बनाएको थियो । 

राजदूतको कार्यकाल पुरा नहुँदै उनी स्वदेश फर्किएपछि २०५१ सालको मध्यावधि निर्वाचनमा झापाबाट निर्वाचित भए । २०५८ सालामा गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा उनी परराष्ट्रमन्त्री बनेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पराजित भए । त्यही नै उनको अन्तिम चुनावी लडाईँ थियो । 

माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन पनि बास्तोलाले अहम् भूमिका खेलेका थिए । माओवादीका नेताहरु पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईसँग गिरिजाप्रसाद कोइरालाको सम्पर्क सेतुको रुपमा उनको सक्रियता विशेष थियो ।

विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्