काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माण अभियानमा सहभागी हुन गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
समृद्धिका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपालीसँग सहकार्य गर्न तत्पर रहेको उनको भनाइ छ ।
शुक्रबार साँझ राजधानीमा गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन गर्दै उनले आर्थिक समृद्धिका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै विकासका लागि ज्ञान र सीपको उपयोगमा जोड दिए ।
उनले विज्ञ सम्मेलनको निष्कर्ष सरकारलाई महत्वपूर्ण सुझाव हुने पनि बताए ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बढ्दो व्यापार घाटाले अर्थतन्त्र चुनौतीमा पुगेको औंल्याउँदै त्यसो हुन नदिन महासंघले निर्यातमूलक उद्योगको प्रवर्धनमा जोड दिएको बताइन् ।
संघका अध्यक्ष अध्यक्ष भवन भट्टले विदेशमा सिकेका ज्ञान र सीपसँगै पुँजीको लगानी गरेर नेपाललाई समृद्ध बनाउन आफूहरु दृढ रहेको बताए ।
पुँजीमात्रै नभइ विदेशमा सिकेका ज्ञान, सीप र अनुभवको सदुपयोग गर्न पनि उनले सरकारलाई आग्रह गरे ।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षद्वय जीवा लामिछाने र शेष घलेले लगानीमैत्री नीति भए गैरआवासीय नेपालीले हृदय खोलेर लगानी गर्ने दाबी गरे ।
यसैबीच, संघको विधानसभाले प्रस्तावित विधानलाई अहिलेकै संरचनामा थप व्यवस्थित बनाउँदै लैजाने सहमति भएको संघले जनाएको छ ।
‘भिजन २०२० एन्ड बियोन्ड’ अनुरुप नै संरचना हुने र सोअनुसार युवा तथा दोस्रो पुस्ताका लागि थप एक उपाध्यक्ष गरी ६ जना उपाध्यक्ष रहने विषयमा सकारात्मक सुझाव प्राप्त भएको संघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्