१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


विषादी मापन प्रयोगशाला एउटै कोठामा सीमित, काम गर्न समस्या


0
Shares

झापा, असार ९ । झापाको बिर्तामोडस्थित कृषि उपज बजारमा स्थापना गरिएको विषादी मापन प्रयोगशाला लथालिङ्ग अवस्थामा पुगेको छ ।

प्रयोगशालाका प्रमुख राजेन्द्र खरेलले सोचेअनुसारको काम गर्न नसकिएको बताए । एउटै कोठामा ल्याब, कार्यालय र सबै कर्मचारी राखेर काम गर्नुपर्ने बाध्यता छ ।

उनले कार्यालय सञ्चालनदेखि सबै काम एउटै कोठाबाट गर्नुपर्दा सेवाग्राहीलाई समेत समस्या आएको जानकारी दिए ।

परीक्षणका लागि ल्याइएका तरकारी तथा फलफूलको नमूना टेबलमुनी राख्नुपर्ने बाध्यता छ । तरकारी तथा फलफूलको रासायनिक विषादी परीक्षण गर्न ल्याब सञ्चालन गरिए पनि केमिकलको गन्धले कर्मचारीलाई समस्या पर्ने गरेको छ ।

प्रयोगशाला सञ्चालनमा आएको एक वर्ष बितिसक्दा पनि कार्यालय र कर्मचारीको व्यवस्थापन नहुँदा समस्या परेको हो ।

केन्द्र स्थापनापछि जग्गा खरिद गरी भवन निर्माण वा भाडामा लिएर कार्यालय सञ्चालन गर्नका लागि सरकारले कुनै चासो दिएको छैन ।