५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


संघीय संरचना महँगो, संघीयता कमजोर बन्दै : डा. महत


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असोज २७ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले देशको  ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिबार पोखरामा नेपाली लेखक संघ कास्कीद्वारा आयोजित ‘नेपालको वर्तमान संघीय प्रादेशिक र स्थानीय कर प्रणाली’ विषयक कार्यक्रमलाई सम्बोधन गदै उनले भत्ता बढाउने, तालिम र गोष्ठीमा फजुलरुपमा पैसासक्नेजस्ता प्रवृत्ति बढेको बताए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले संघीय संरचना महँगो बन्दा संघीयता कमजोर बन्दै गएको उल्लेख गरे ।

ठूलो संरचनाको संघीयताका कारण आर्थिक बोझ बढ्दै गएको उनको भनाइ थियो ।

उनले संघीय संरचना धान्नकै लागि देशैभरि करवृद्धि र स्थानीय तहमा कानुनविपरीत कर उठाउनु गलत भएको बताए ।

केन्द्र सरकारको कर उठाउने नीति–नियम स्पस्ट नहुँदा जनताले महँगो कर तिर्न बाध्य भएको भन्दै उनले अहिलेकै अवस्थामा कर उठाउने हो भने धनी प्रदेश धनीको धनी र गरिब प्रदेश गरिबको गरिब हुने ठोकुवा गरे ।

उनले मुलुकमा तीनओटै तहका प्रशासनिक संरचना ठूलो र देशको अर्थतन्त्र सानो हुँदा देशले आर्थिकरुपमा धान्न मुस्किल हुँदै गएको बताए ।

कार्यक्रममा प्रा. डा. वेदनाथ शर्माले नेपालको वर्तमान संघीयता र स्थानीय कर प्रणाली विषयक आधारपत्र प्रस्तुत् गरेका थिए ।