
रसुवा । मौसम सफा भएसँगै रसुवाको लाङटाङका पर्यटकीय क्षेत्रहरूमा विदेशी पर्यटकको चहपहल बढ्न थालेको छ ।
लाङटाङ पुग्न काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले र यहाँबाट लाङटाङ ग्लेसियर र हिमालको अवलोकन गर्नसमेत सकिने भएकाले अहिलेको मौसममा पर्यटकको चहलपहल बढ्ने गर्दछ ।
यो क्षेत्रमा तीन वटा पदमार्ग रहेका छन् । यहाँ पुग्ने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, लाङटाङ निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड, तामाङ सम्पदामार्गभित्र रहेको तामाङ कला र संस्कृतिलगायतका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिने भएकाले लाङटाङ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
केही सातायता लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा दैनिक एक सयको हाराहारीमा पर्यटक प्रवेश गर्ने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
गत आर्थिक वर्षमा यो क्षेत्रमा १३ हजारभन्दा बढी विदेशी पर्यटक भ्रमण गरेका थिए ।
यस वर्ष पनि सोही हाराहारीमा स्वदेशी पर्यटकले आउने अपेक्षा गरिएको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्