Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


प्रेसमाथि अंकुश लगाउन दिँदैनौं : देउवा


0
Shares

चितवन, असोज २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन नदिने बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियन चितवनको आठौं अधिवेशन तथा नवनिर्मित भवनको उद्घाटन गर्दै सभापति देउवाले प्रेसमाथि सरकारले अंकुश लगाए त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।

‘कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउन दिँदैनौं । हामी प्रतिकार गछौं’–उनले भने ।

प्रेसलाई स्वतन्त्र हुन दिनुपर्ने उल्लेख गर्दै उनले संविधानले दिएको अधिकार सबै कार्यान्वयन नभएको र त्यसलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने बताए ।

‘नेपाल प्रेस युनियन स्वतन्त्र संगठन हो । यसमा पार्टीले कुनै हस्तक्षेप गर्दैन’–उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, प्रदेश नम्बर–३ की सांसद गीता वाग्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको प्रेस युनियनलाई भवन निर्माणका लागि भरतपुरस्थित बसेनीमा जग्गा उपलब्ध गराउने वरिष्ठ समाजसेवी मैयाँदेवी श्रेष्ठ, भवन निर्माणका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने सांसद गीता वाग्लेलगायत भवन निर्माणमा सहयोग गर्ने सबैलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

इमेजकर्मी चौधरी पुरस्कृत

नेपाल प्रेस युनियन चितवनद्वारा चारजना पत्रकार पुरस्कृत भएका छन् ।

शुक्रबार भएको आठौं अधिवेशन तथा भवन उद्घाटन कार्यक्रममा चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

५१ हजार रुपैयाँ राशीको चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल, कुलचन्द्र वाग्ले र तेजप्रकाश पण्डितलाई प्रदान गरियो ।

यस्तै, ११ हजार १११ रुपैयाँ राशीको क्रियाशील पत्रकारिता पुरस्कार चितवनका पत्रकार राजु चौधरीलाई प्रदान गरिएको छ । पत्रकार चौधरी इमेज च्यानलका चितवन संवाददाता र नारायणी अनलाइन डटकमका प्रधानसम्पादक हुन् ।